'भाषणबाट भन्न नसक्ने कुरा कविताबाट भन्ने गर्छु'
निर्भीकजंग रायमाझी
२०७८ साउन १३ गते ७:०५ मा प्रकाशित प्रतिक्रिया
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा गुरुराज घिमिरेको व्यस्तता बढेको छ । साढे तीन दशकको राजनीतिक जीवनमा महाधिवेशनले कति महत्त्व राख्छ भन्ने कुरा बुझिसकेका छन् उनले । तर यही चटारोबीच गुरुराजले आफ्नो दोस्रो कवितासंग्रह ‘मृत्युसँगको साक्षात्कार’ प्रकाशित गरेका छन् ।
वैशाखमा प्रकाशित संग्रह लकडाउनले गर्दा श्रावणदेखि मात्र बजार पठाइएको छ । लकडाउनको समयलाई पनि उनले नयाँ उपन्यास ‘डाक्टरको पुर्नजन्म’को लेखनमा खर्चिए ।
पछिल्लो एक दशकमा घिमिरेका आधा दर्जन पुस्तक प्रकाशित भइसकेका छन् । यसबाहेक अखबारी लेखन उनको नियमित कर्म बनेको छ । राजनीति त जीवनको मुख्य बाटो भइहाल्यो ।
‘लोकरिज्याइँ गर्न लेख्दै छु भनेको होइन’ गुरुराज भन्छन्, ‘लेखन मेरो नित्य कर्म भइसक्यो । यसबाट अलग हुने कुरा सोच्न पनि सक्दिनँ !’
उमेरले ५० टेकिसकेका गुरुराजलाई पार्टीपंक्तिमा युवा नेता भनिन्छ । तर आफ्नो भर्भराउँदो युवाकाल उनले राजनीतिलाई समर्पित गरिसकेका छन् । २०५९ मा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेको बेला लेख्ने त के पत्रिका पढ्नेसम्म फुर्सद पाएनन् ।
त्यतिबेलै दौडादौडले मात्र राजनीति हुँदैन भन्ने बुझिसकेका थिए उनले । ठीक यहीबेला राजा ज्ञानेन्द्रकेा माघ १९ को कदमको विरोधमा कांग्रेसी नेताहरू पक्राउ पर्न थाले । गुरुराज पनि विराटनगरबाट पक्राउ पर्ने पहिलो कांग्रेस नेता भए ।
‘राजनीतिक व्यस्तताबीच समयचेत नै ख्याल नगर्ने भइसकेको रहेछु’ सकि्रय राजनीति गर्दाको दिन सम्झिँदै उनी भन्छन्, ‘माघ १९ को कदमपछि पाँच महिना जेल पर्दामात्र लेखन-पठनतर्फ फेरि आकृष्ट हुन पुगेँ ।’
विराटनगरबाट पक्राउ परेका घिमिरे पाँच महिना थुनामा बस्नपर्यो । त्यतिबेलादेखि नै लेखनलाई नियमित कर्म बनाउने प्रण गरेका थिए । पूर्जी थपिँदै गयो । कारागार बस्ने दिन लम्बिँदै गएपछि उनले जेलभित्र बाटै लेखे- बन्दी जीवनका अनुभूतिहरू ।
तर प्रकाशित गर्न हतार गरेनन् । २०७२ मा मात्रै उक्त संस्मरण प्रकाशित भयो । पहिलो पुस्तक भने २०६९ मा ‘राजनीतिमा नैतिकता’ (विचारसंग्रह) प्रकाशित भयो ।
हालसम्म उनको एक कथासंग्रह, दुई कविता र तीन विचार संग्रह प्रकाशित भइसकेको छ । यो क्रमलाई वाषिर्क एउटा पुस्तक प्रकाशन गर्ने लक्ष्य लिएको बताउँदै उनी भन्छन्, ‘अध्ययनको क्रम नटुटोस् भनेर प्रतिवर्ष एउटा पुस्तक प्रकाशन गर्ने अठोट गरेको छु ।’
आत्मचिन्तनका लागि साहित्य
गुरुराजको दोस्रो कवितासंग्रहमा आत्मचिन्तन र राजनीति बराबरी समेटिएको छ । ४० थान कविताको मूल विषय राजनीति र मानिसको जीवन रहेको छ ।
‘जुन कुरा म भाषणबाट भन्न सक्दिनँ त्यो कुरा कविताबाट भन्न सक्छु’ कविता लेख्नुको अन्तर्यबारे उनको धारणा छ, ‘सबै कुरा कराएर, उफ्रिएर भन्न नसकिने रहेछ । यसैले त काव्यको शक्ति सर्वकालिक छ ।’
आज पनि उनी माधव घिमिरेको गौरी, लेखनाथ पौडेल चरिको विलाप, श्रवण मुकारुङका राजनीतिक कविताका कुरा गरिरहेका भेटिन्छन् । जर्मनीमा बर्तोख्ख ब्रेख्तका रचनाले क्रान्तिमा उत्प्रेरक भूमिका खेलेको स्मरण गरिरहन्छन् ।
‘साहित्य राम्रो हुँदा समग्र समाजको चेतना पनि राम्रो हुन्छ । मानवीय सर्वोच्चता कायम हुन्छ’, साहित्य र कविताप्रति उनको निचोड यही छ ।
अहिले गुरुराजकै पार्टीका नेता शेरबहादुर देउबा प्रधानमन्त्री छन् । कांग्रेसको सत्ता हुँदा उनकै साथीहरू मन्त्री बने । विपक्षी कम्युनिष्ट पार्टीका युवा नेताहरू पनि उनका साथी हुन् । यसैले राजनीतिक कसरी बिगि्रयो, कसले बिगार्यो भलभाँती ज्ञान छ उनलाई ।
तर ती पात्रलाई मञ्चबाट कुर्लिएर सत्तोसराप गरेर केही नहुने कुरा उनले बुझेका छन् । त्यही उकुसमुकुस कवितामा व्यक्त गर्छन् । कथामा पात्रहरूको मनोदशा चित्रण गर्छन् ।
भर्खरै प्रकाशित कवितासंग्रहको ‘भो कुरा नगरौं’ शीर्षको कविता उनले लेखेका छन् –
मेरो देशमा
पुर्खाहरूको आहुती लिलाम गरेर
आफ्नो जीवन गुजारा गर्ने कपुतहरूको देशमा
भो अब सपुतहरूको कुरा नगरौं !
साहित्य भन्दैमा कोरा कल्पनामात्र लेख्न हुँदैन भन्ने पक्षमा छन् उनी । टेक्ने जग (समाज) विना लेखिएको साहित्यको अर्थ हुँदैन भन्ने मान्यता राख्छन् । आम जनताले बुझ्ने सरल भाषामा जनताकै कुरा लेख्नुपर्नेमा अडिग छन् ।
यसो त कवितासँगै कथा, उपन्यास र राजनीतिक लेख समानान्तर रुपमा लेखिरहेका छन् । जुनबेला जुन विधाबाट अभिव्यक्त गर्न सहज लाग्छ त्यही लेख्ने गरेको उनी सुनाउँछन् ।
अध्ययनशील नेता
विद्यालय जीवनदेखि नै साहित्यमा रुची रहेको बताउने गुरुराजलाई नेपाली कांग्रेसभित्र अध्ययनशील नेताको रुपमा लिइन्छ । साहित्यकारहरू पनि बसउठ गर्न मन पराउने उनी सामान्य चिया पसलमै साहित्य र राजनीतिक गफ गरिरहेका भेटिन्छन् ।
लोकप्रिय कवि श्रवण मुकारुङका अनुसार गुरुराज अध्यात्म र जीवनलाई केन्द्रमा राखेर लेख्ने स्रष्टा हुन् । ‘गुरु घिमिरे प्रजातन्त्र, मानवियता र स्वतन्त्रताको चिन्तन, मनन गर्ने नेता हुन्’ मुकारुङ भन्छन्, ‘त्यो चिन्तन उनले लेख्ने साहित्यमा पनि प्रतिबिम्बित बनेको हुन्छ ।
युवा समीक्षक सोझो गाउँले भने लेखकीय इमानदारिता नै गुरुराजको विशिष्टता मान्छन् हो । ‘दार्शनिक चिन्तन र विद्रोही भावनाले भरिएका उनका कविता सरल भइकन निकै घत लाग्दा रहेका छन्’ गाउँले भन्छन्, ‘उनका कविता सामान्यभन्दा सामान्य पाठकले समेत पढ्न सक्ने खालका छन् ।’
यस्तै घिमिरेको कवितासंग्रहमा भूमिका लेखेका कवि ठाकुर बेल्बासे पनि घिमिरेका सृजना पढ्दा उनी नेपाली राजनीतिक नेता हुन् भन्ने कुरा पत्याउन गाह्रा पर्ने बताउँछन् ।
बेलबासे लेख्छन्- राजनीतिमा आफ्नो छुट्टै प्रभाव राख्ने एउटा लेखकले यति ठूलो आँट गरेर जनताको बोली बोल्दै लेखिएको यो कविता सम्भववत पहिलो सिर्जना हो । उनी जनताका गीत गाउने विद्रोही स्रष्टा हुन् ।
तस्वीर स्रोत : गुरु घिमिरेबाट प्राप्त