शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १० गते । कोभिड–१९ सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय आवागमन प्रभावित भए पनि त्यसको असर व्यापारमा भने नपरेको देखिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कअनुसार अन्तर्राष्ट्रिय व्यापारका प्रायः सबै सूचकले ऐतिहासिक ‘रेकर्ड’ कायम गरेका छन् । असामान्य परिस्थितिमा पनि अन्तर्राष्ट्रिय व्यापारमा कुनै असर नपर्दा आयात तथा निर्यातको ग्राफ उकालो लागेको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार गत आवमा नेपालले सर्वाधिक आयात गरेको छ । १५ खर्ब ४० अर्बको वस्तु आयात गर्दै नयाँ रेकर्ड बनेको हो । यो आयात अघिल्लो आव २०७६/७७ को तुलनामा २८.६६ प्रतिशतले बढी हो र समीक्षा अवधिमा ११ खर्ब ९७ अर्ब रुपियाँको वस्तु आयात भएको थियो । आयातको यो आकार गत आवका लागि सरकारले सुरुमा विनियोजन गरेको बजेटको तुलनामा पनि बढी हो । गत आवमा सरकारको कुल बजेट १४ खर्ब ७४ अर्ब रुपियाँ थियो ।
आयात मात्र होइन, पहिलो पटक निर्यातको आकार एक खर्ब नाघेर गत आवमा अर्को रेकर्ड बनेको छ । विभागका अनुसार आर्थिक वर्षको अन्त्यसम्म निर्यात ४४.४३ प्रतिशतले बढेर एक खर्ब ४१ अर्ब रुपियाँ नाघेको छ । जब कि त्यसअघिको आवमा नेपालले करिब ९८ अर्ब रुपियाँ बराबरको निर्यात गरेको थियो ।
निर्यात बढे पनि आयात उच्च हुँदा व्यापार घाटाले पनि नयाँ रेकर्ड बनाएको छ । गत आवमा नेपालको व्यापार घाटाको आकार करिब १४ खर्ब पुगेको छ । जुन त्यसअघिको आवको तुलनामा २७.२६ प्रतिशतले बढी हो । उक्त अवधिमा नेपालको व्यापार घाटा १० खर्ब १० अर्ब रुपियाँ थियो ।
आयात र निर्यात बढ्दा समग्र अन्तर्राष्ट्रिय व्यापारकै आकार पनि अहिलेसम्मकै उच्च भएको छ । विभागका अनुसार गत आवमा नेपालको अन्तर्राष्ट्रिय व्यापार १६ खर्ब ८० अर्ब नाघेको छ । त्यसअघि कुल व्यापार १२ खर्ब ९४ अर्ब रुपियाँ थियो ।
यस हिसाबले गत आवमा कुल व्यापारको आकार २९.८५ प्रतिशतले बढेको छ । निर्यातको आकार बढ्दा कुल व्यापारमा यसको हिस्सा ७.५५ प्रतिशतबाट बढेर ८.४० पुगेको छ । आयातको हिस्सा भने ९२.४५ प्रतिशतबाट घटेर ९१.६० प्रतिशत पुगेको छ ।
गत आवमा नेपालले सबैभन्दा धेरै डिजेलको आयात गरेको छ । तथ्याङ्कअनुसार असारसम्म ९१ अर्ब ९४ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि ७१ अर्ब ३६ करोडको फलाम तथा स्टिल, ५२ अर्ब ४० करोडको कच्चा भटमास तेल, ३६ अर्ब ९० करोडको मोबाइल र ३६ अर्ब १५ करोड रुपियाँको एलपी ग्यास आयात भएको छ ।
निर्याततर्फ २९ अर्ब ८० करोड रुपियाँको भटमास तेल, २३ अर्ब ५७ करोड रुपियाँको सिन्थेटिकका ऊनी कपडा, सात अर्ब ८८ करोड रुपियाँको जुट र अन्य बुनेका कपडाको निर्यात भएको छ ।
व्यापार साझेदारका हिसाबले सबैभन्दा धेरै भारतसँगै नेपालको व्यापार भएको छ । गत आवमा नेपालले नौ खर्ब ७१ करोड रुपियाँको वस्तु आयात गर्दा एक खर्ब छ करोड रुपियाँभन्दा बढीको निर्यात गरेको छ ।
चीनबाट दुई खर्ब ३३ अर्ब रुपियाँभन्दा बढीको वस्तुको आयात गर्दा जम्मा एक करोड रुपियाँको मात्र वस्तु निर्यात भएको छ । संयुक्त राज्य अमेरिकाबाट नेपालले १९ अर्ब ५० करोड रुपियाँको वस्तु आयात गरेको छ भने १३ अर्ब ८० करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७