कोभिड–१९ नियन्त्रणमा आई सामान्य अवस्थामा फर्किए चितवनको पर्यटन व्यवसायलाई लयमा फर्काउन ‘आन्तरिक पर्यटक प्रवद्र्धन कार्यक्रम’मा जोड दिइने भएको छ । पर्यटन व्यवसायीहरूको छाता संस्था क्षेत्रीय होटल सङ्घ सौराहाले स्थानीय, प्रदेश, केन्द्र सरकारका साथै नेपाल पर्यटन बोर्डको सहयोग लिएर देशव्यापी आन्तरिक पर्यटक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ । सङ्घका अध्यक्ष दीपक भट्टराईले निषेधाज्ञा खुले पनि एक/डेढ वर्ष विदेशी पर्यटक नआउने पक्का छ भन्दै अर्बौंको लगानी रहेको पर्यटन क्षेत्रको पुनस्र्थापनाका लागि आन्तरिक पर्यटकमै जोड दिनु जरुरी रहेको बताउनुभयो । उहाँले सातै प्रदेशका मुख्यमुख्य सहरमा पुगेर चितवनका पर्यटकीय क्षेत्रबारे प्रचारप्रसार गर्ने योजना बनाएको र यसले चितवन घुम्न आउने पर्यटकको आकर्षण बढ्ने विश्वास रहेको उल्लेख गर्नुभयो । सरकारले बजेट भाषणमा ल्याएका कार्यक्रमहरू हुबहु लागू हुन सके सामान्य अवस्थामा आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताइएको छ ।