पानी पर्दा हिलो, घाम लाग्दा धुलो
रवीन्द्र घिमिरे
२०७८ असार २५ गते २०:४१ मा प्रकाशित प्रतिक्रिया
२५ असार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह अगाडिको सडकमा स्वास्थ्यकर्मी, गर्भवती, सुत्केरी, बिरामी र उनीहरूका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भइहरन्छ ।
तर, प्रसूति गृह आसपासका सडक भने न सवारी चल्न लायकका छन्, न त मान्छे हिँड्न सक्ने खालका नै । सडक मर्मतका लागि जिम्मेवार निकायले समयमै काम नगर्दा उपत्यकाका धेरै सडकहरू खाल्डामय हुन थालेका छन् । निषेधाज्ञामा चिल्ला देखिएका मुख्य सडकहरू पनि हिलो÷धुलोले ढाकिन थालेका छन् ।
प्रसूति गृह र निजी लगानीको नर्भिक हस्पिटल रहेको यो सडकमा बिरामी, बिरामीका आफन्त र स्वास्थ्यकर्मीको ओहोरदोहोर भइरहन्छ । तर सानो झरी पर्नासाथ यही सडकमा हिलोको साम्राज्य खडा हुन्छ । अर्थात वर्षामा रोप्न पानी सिँचाइ गरिएको खेतजस्तै हुन्छ ।
बिग्रिएको सडक बनाउन लामो सयमदेखि बेवास्ता गरिएको स्थानीय व्यवसायी शंकर सुवेदी बताउँछन् । ‘पानी परेपछि सडकमा निस्कन मुस्किल हुन्छ,’ उनी भन्छन्, ‘अस्पतालहरू रहेको यति महत्वपूर्ण स्थानको सडकको यो हालतले सरकारलाई गिज्याइरहेको छ ।’
उनका अनुसार घाम लाग्दा धुलोले दुःख दिन्छ, पानी परेपछि हिलोले । काठमाडौं महानगरपालिकले ठेक्का लगाएर पनि काम नभएको यो सडकका ठूला खाल्डोले दुर्घटनाको जोखिम बढेको छ । सडकमा यात्रा गर्न निकै सास्ती छ ।
ललितपुरको ज्वागलबाट शंखमुलतर्फ जाने करिडोर सडकको पनि हालत उस्तै छ । सडक बनाउन थाले पनि समयमै काम नहुँदा गाडी गुडाउन मात्रै हैन, पैदलयात्रुलाई पनि सास्ती छ । स्थानीय सपना बज्राचार्य वर्षौंदेखि सडक बनाउन कसैले वास्ता नगरेको बताउँछिन् । ‘वर्षा लागेपछि ठेकदारले डोजर चलाएर हिँड्न हुने बाटो झन् हिँड्न नहुने बनाएर छाड्यो,’ उनी भन्छिन् ।
महाराजगञ्जबाट बुढानीलकण्ठ जाने सडकको पनि अवस्था खराब छ । बिजुलीको तार बिछ्याउन खनिएको सडक करिब एक वर्षदेखि मर्मत गरिएको छैन । यसका कारण वर्षायाममा यो सडकखण्डमा गुड्ने सवारी र हिंड्ने यात्रुलाई सकस छ । चाबहिल–बौद्ध–जोरपाटी–साँखु खण्ड सबैभन्दा खराब हालतमा छ ।
काठमाडौंका कयौं यस्ता सडकहरू छन्, जहाँ खाल्डा परेर सडकमा मान्छे हिँड्न पनि योग्य छैनन् । उपत्यकाका शहरी सडक मात्र हैन, राजमार्गहरूमा पनि जोखिमयुुक्त ठूला–ठूला खाल्डाहरू देखिन थालेका छन् । गत हिउँदमा पुरिएका खाल्डाहरू पनि निर्माणको गुणस्तर कमजोर भएका कारण फेरि भत्किन थालेका छन् ।
पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डहरूदेखि त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बिपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग लगायतका सडकका विभिन्न खण्डहरूमा पनि पनि ठूला–ठूला भ्वाङ परेका छन् । सरकारले त्यस्ता खाल्डा पुर्न र सडक आवागमन सहज गर्न भने चासो दिएको छैन ।
खाल्डा बढ्दै गर्दा दुर्घटनाको जोखिम बढ्दै जान्छ । खाल्डाले रातको समयमा हुने दुर्घटनाको दर बढ्छ । सडकमा बसेर सेवा दिन पनि सास्ती भएपछि ट्राफिक प्रहरीले सडक विभाग र महानगरपालिकासँग खाल्डा पुर्न आग्रह गर्दै आएको छ ।
सडकमा खाल्डो बढेपछि सवारी साधन चलाउनेहरू सबैभन्दा बढी पीडित छन् । राजमार्ग र शहरी सडकमा वर्षायाममा पर्ने सानो खाल्डो दिनानुदिन ठूलो बन्छ ।
सडकको खाल्डाका कारण स्थानीय बासिन्दासँगै व्यापारीहरू पनि प्रभावित हुने गरेका छन् । वर्षामा सडकमा खाल्डा पर्ने समस्या पुरानो भए पनि यस्ता खाल्डा पर्नासाथ पुर्ने र बनाउने काममा सरकारको चासो देखिँदैन ।
काठमाडौंमा खोला करिडोरहरूका सडकको उस्तै बेहाल छ । शहरका टोलभित्रका अधिकांश कालोपत्रे सडकको अवस्था पनि उस्तै छ ।
काठमाडौंका विभिन्न नाका जोड्ने सडक बिजोक अवस्थामा छन् । दक्षिणकाली, साँखु, टोखा, बालाजु, सितापाइला लगायतका नाकाका सडकहरू पनि चुस्त अवस्थामा छैनन् ।
काठमाडौंमा विशिष्ट व्यक्तिहरूको सवारी गुड्ने मुख्य सडकहरूको अवस्था अन्यत्रको भन्दा केही राम्रो छ । तर, त्यस्ता सडकमा पनि खाल्डा पर्ने क्रम तीव्र छ ।
२०७७ चैतमा कोरोना महामारी नियन्त्रण गर्न गत वैशाखमा लकडाउन गरिएपछि सवारी नगुडेर चिल्ला देखिएका काडमाडौंका सडकका तस्विरहरू भाइरल बनेका थिए । त्यतिबेला गज्जबको बनेको भन्दै वाहवाही कमाएका सडक फेरि पुरानै हालतमा पुग्न थालेका छन् ।
विभागका अधिकारीहरू विभिन्न क्षेत्रमा भइरहेको सडक विस्तार, मेलम्ची आयोजनाको खानेपानीको पाइप बिछ्याउने काम र नेपाल विद्युत प्राधिकरणको बिजुलीको तार बिछ्याउने कामका कारण सडकमा बढी समस्या देखिएको बताउँछन् ।
यी काम चलिरहँदासम्म उपत्यकाका सडकलाई हरेक वर्ष अर्बौं खर्चेर सुधार गरे पनि परिणाम प्राप्त नहुने अवस्था देखिएको विभागको भनाइ छ । डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपाली अन्य कामका लागि सडक खन्ने निकायले समयमै खाल्डा पर्ने काम नगर्दा आफूहरूमाथि अपजस आउने गरेको बताउँछन् ।
‘शहरभित्रका आठ मिटरभन्दा साना सडक महानगरपालिकाले हेर्छ, नदी करिडोरमा सडक हेर्ने निकाय अरु नै छ, त्यहाँ काम भएनन् भने पनि मुख्य सडकमा धुलो–हिलोको प्रभाव पर्छ,’ उनी भन्छन्, ‘वर्षा लागेयता सडक खन्न रोकेका छौं, तर यसअघिका खाल्डाहरू नै नपुरिएकाले समस्या देखिन्छ ।’
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले मेलम्चीको पाइप बिछ्याउनका लागि खनिएका सडकलाई सुधार्न पनि चासो देखाएको छैन ।
अहिले विद्युतको तार भूमिगत गर्न पनि काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा सडक खनिँदैछ । तर, काम अस्तव्यस्त तरिकाले भएको भन्दै सडक विभाग नेपाल विद्युत प्राधिकरणसँग रुष्ट छ ।
प्राधिकरणले ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट तार अन्डर ग्राउन्ड गर्ने गरी सडक विभागसँग समझदारी गरेको थियो । यो प्रविधिमा करिब दुई सय मिटरको अन्तरमा सडकमा खाल्डो खन्नुपर्छ । त्यस्तो खाल्डो १० दिनभित्र पुर्ने सहमति भएको थियो ।
काठमाडौं सडक डिभिजनका प्रमुख नेपाली विद्युत प्राधिकरणले समझदारीअनुसार काम नगर्दा समस्या भएको बताउँछन् । खनेको सडकमा छिटो कालोपत्रे गर्न आग्रह गरे पनि ढिलाइ हुँदा सडकमा खाल्डो देखिने गरेको उनी बताउँछन् ।
पटक–पटक पत्राचार र छलफल गरेर प्राधिकरणलाई सम्झौता अनुसार खनिएको सडकमा कालोपत्रे गर्न भनिए पनि अटेरी भइरहेको नेपालीले बताए ।
काठमाडौंमा करिब १० वर्षअघिबाट सुरु भएको सडक विस्तारको काम पनि धुलो र हिलो बढाउने कारक बनेको छ । २०७२ सालबाट सुरु भएको चाबहिल–साँखु सडकखण्ड अझै बनिसकेको छैन । सातदोबाटो–ढोलाहिटी सडक खण्ड पनि अलपत्र छ । गोदावरी र बुङ्मति जाने सडक विस्तारको काम पनि अलपत्र छ । कतिपय भित्री सडक विस्तारको लागि ठेक्का लागे पनि काम नहुँदा खाल्डोको साम्राज्य छ ।
सडक विभागले भने वर्षा सकिनासाथ खाल्डाहरू पुर्न र सडक मर्मत गर्ने काम अघि बढ्ने बताएको छ । तर, कतिपय जिम्मेवार निकायले नै गर्नुपर्ने सडक मर्मतको काम नगर्दा सडकको अवस्था सुधारेर पनि जस पाउन नसकिएको डिभिजन प्रमुख नेपाली बताउँछन् ।
काठमाडौंमा विभागदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण, एकीकृत बाग्मती सभ्यता विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय, नेपाल विद्युत प्राधिकरण, काठमाडौं महानगरपालिकाका, ललिलतपुर महानगरपालिकासहित विभिन्न नगरपालिकाहरू विभिन्न सडक मर्मतको जिम्मा लिएर बसेका निकाय हुन् ।
तर, समन्वय र आपसी समझदारीसहित यस्ता निकायहरूले नागरिकको सास्ती हटाउने गरी काम गर्न नसक्दा सडकमा सवारी चलाउनै मुस्किल हुने गरेको छ ।