कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै हुनुहुन्छ अमरबहादुर विक । उहाँ उमेरले ६४ पुग्नुभयो । तर यो पेशाले अझै छोडेको छैन । बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उहाँलाई भर आरनकै छ । त्यो हिजोभन्दा आज झन बढ्दो छ ।
दिउँसोको चर्को घाममा आरनमा पसिना काढ्दै हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामका औजार बनाउने काममा उहाँको जीवनचर्या बितिरहेको छ । उमेरले बुढ्यौली टेक्यो, नातिनातिना, परिवारसँग घरमै आराम गर्ने बेलामा आरनमा बसेर घन ठटाउँदै हुनुहुन्छ । यो उहाँको रहर नभएर बाध्यता हो ।
रामपुर नगरपालिका–८ कुमराङ बस्ने विकले यसरी नै सानो झुप्रोमा बसेर घन ठटाएरै पाँचदशक बिताउनुभयो । जीवनको उत्तरार्दमा आइपुग्दा पनि आरन व्यवसाय धान्नु उहाँको बाध्यता नै भएको छ । उहाँ भन्नुहुन्छ, “मैले १४ वर्षको उमेरबाट नै घन ठटाएर आरनको काम शुरु गरेको हुँ, अहिलेसम्म पनि यो कामबाट मुक्ति पाउन सकेको छैन । पढाइलेखाइ नभएपछि आफूले जे जानियो त्यही काम समातियो ।”
घरमा बाउबाजेले धान्दै आएको आरन सीप र व्यवसायलाई उहाँले अहिलेसम्म निरन्तरता दिनुभएको छ । यस व्यवसायमा युवापुस्ताले भने चासो दिएका छैनन् । “जवानीमा त बिहानीको झिसमिसे उज्यालो हुन नपाउँदै आरन शुरु गर्थें, ग्राहक पनि भरिभराउ हुन्थे, काम राम्रै चलेको थियो, रात परेको पनि कामले पत्तो पाउँदैनथे यसरी नै काम गरेरै उमेर ढल्कियो”, उहाँले हिजोका दिन सम्झँदै भन्नुभयो ।