समसुदिन मियाँ रामपुरको बेझाड बजारका एक प्रतिष्ठित साउण्ड सिस्टम व्यवसायी हुनुहुन्छ । यस व्यवसायमा लामो समयदेखि अनुभव लिनुभएका मियाँको अहिलेको दिनचर्या भने हाँसपालनमा बितेको छ ।
रामपुर नगरपालिकाले कृषि उद्यम गर्न इच्छुक युवालाई ब्याज अनुदान उपलब्ध गराउन थालेपछि बैंकबाट रु १२ लाख ऋण झिकेर हाँसपालन सुरु गर्नुभएको छ । “कोरोनाको असरले अहिले साउण्ड सिस्टमको व्यापार छैन, नगरपालिकाको सहयोगमा हाँसपालन सुरु गरेको छु”, उहाँले भन्नुभयो, “दुई वर्षसम्मको ब्याज पनि तिर्नु नपर्दो रहेछ, नगरपालिकाले युवा लक्षित ब्याज अनुदान कार्यक्रम ल्याएपछि हाँसपालन सुरु गरेको हँु ।”
उहाँको फार्ममा हाल माउ र चल्ला गरी करिब ५०० हाँस छन् । हाँससँगै उहाँले स्थानीय जातको ४०० कुखुरा पाल्ने तयारी गर्नुभएको छ । उहाँले गत वर्ष ४५० हाँस बिक्री गरिसक्नुभएको छ । त्यस्तै विनोद श्रेष्ठले पनि गाईभैँसीपालनलाई विस्तार गर्नुभएको छ । नगरपालिकाको रु १० लाख बराबरको ब्याज अनुदानमा उहाँले गाईभैँसीपालनलाई विस्तार गर्नुभएको हो । नगरपालिकाले ब्याज अनुदानमा रकम उपलब्ध गराउन थालेपछि कृषि तथा पशुपालन व्यवसायमा लाग्ने युवालाई प्रेरणा मिलेको उहाँको भनाइ छ ।