शेयर गर्नुहोस:
लेखनाथ समाचारदाता
पोखरा, साउन ११ गते । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बराल (जीवन)ले कृषि क्षेत्रको विकासबिना समृद्धि प्राप्त गर्न नसकिने बताउनुभएको छ ।
लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाद्वारा आयोजित भैँसी खरिदमा अनुदान वितरण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “समृद्धिका नारा र भाषण धेरै भए तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न कृषिलाई आधुनिकीकरण र व्यावसायिक गर्नुपर्छ । यसको विकासबिना समृद्धि गफमा मात्र सीमित हुन्छ । ” अर्थमन्त्री बरालले किसानलाई उपेक्षा गर्ने गरिएको बताउँदै वास्तवमा कृषि पेसा स्वाधीन र स्वाबलम्बी पेसा भएको बताउनुभयो ।
उहाँले कृषि प्रणालीलाई वैज्ञानिक, व्यावसायिक र बजारीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै कृषि सहकारीहरूलाई प्रवद्र्धन गर्दा आत्मनिर्भर बन्नसक्ने बताउनुभयो । उहाँले अनुदानको दुरुपयोग हुने गरेको बताउँदै यसको सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । उहाँले राज्य र किसानबीचको सम्बन्ध अन्योन्याश्रित हुुनुपर्नेमा जोड दिनुभयो ।
किसानका नाममा झोले किसानले राज्यबाट फाइदा लिने गरेको बताउनुभयो । फर्म दर्ताका फाराम झोलामा हुने तर फिल्डमा केही नहुने अवस्था रहेको छ, मन्त्री बरालले भन्नुभयो, “अब झोले किसानलाई विस्थापित गरेर वास्तविक किसानलाई स्थापित गर्नुपर्छ । ”
पोखरा महानगरपालिका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा महानगरको आर्थिक समृद्धिको आधार पर्यटन र कृषि भएको बताउँदै कृषिमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याएको बताउनुभयो । सङ्घ र प्रदेश सरकारले प्रदान गर्ने अनुदानबाट वञ्चित भएका किसानलाई लक्षित गरेर महानगरले अनुदान उपलब्ध गराउन कार्यक्रम समावेश गरेको बताउनुभयो । पोखरा महानगर पशु शाखाले दसवटा भैँसी भएका किसानलाई ३५ हजारका दरले ५० जनालाई २० लाख रुपियाँ वितरण गरेको हो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७