comparemela.com


जलविद्युत् विकास (सम्पादकीय)
  
शेयर गर्नुहोस:
काठमाडौंँको फर्पिङ परियोजनाबाट वि.सं. १९६८ मा सुरु भएको नेपालको विद्युत् उत्पादनको इतिहास सय वर्ष पार गरिसकेको छ । यस अवधिमा विद्युत् उत्पादन अपेक्षित परिमाणमा हुन नसकेको होला तर जलविद्युत् क्षेत्र व्यापक रूपमा अगाडि बढेको छ । लगानी, उत्पादन, वितरणका दृष्टिले पनि यो क्षेत्रमा विविधता आएको छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा राज्यको पहलमा निकालिएको चार सय किलोवाटको बिजुलीलाई नेपालले ठूलो उपलब्धि मानेको थियो । ‘चन्द्रज्योति’ राणा शासन कालका प्रमुखमध्ये एक औद्योगिक उपलब्धि मानिन्छ । एसियाकै पुरानो मानिने सो परियोजनापछि वि.सं. १९९१ मा सुन्दरीजल परियोजना सम्पन्न भएपछि नेपालमा क्रमशः नागरिकको पहुँचमा बिजुली पुगेको हो । हाल करिब ८६ प्रतिशत नेपालीले ग्रिडको विद्युतमा पहुँच पाएका छन् भने अफ ग्रिडसहित करिब ९० प्रतिशतले विद्युत ऊर्जामा पहँुच पाएका छन् । प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत करिब २६५ युनिट पुगेको छ । हालसम्मको ठूलो कालीगण्डकी (१४४ मेगावाट) र खिम्ति, मस्र्याङ्दी, भोटेकोसी, चिलिमे, कुलेखानी विद्युत् गृहबाट नेपालले विद्युत् उत्पादनमा उल्लेख्य प्रगति गर्दै आएको छ भने अपर तामाकोसी, अरुण तेस्रोलगायतको उत्पादनबाट नेपाल विद्युत्मा आत्मनिर्भर हुँदै विद्युत निकासी तथा व्यापारको युगमा प्रवेश गर्ने जुन सम्भावना देखिएको छ त्यसमा सफलता पाउन अबका पहललाई थप परिणाममुखी बनाउनु पर्नेछ । आर्थिक वर्ष २०६६/०६७ को बजेट वक्तव्यमा आगामी २० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन सोच लिइएअनुसार तय गरिएको २० र १० वर्षीय जलविद्यत् विकासको सङ्कल्प पूरा गर्दै नेपालले आफ्नो अर्थतन्त्रलाई विद्युत्मा आधारित बनाउन सक्नेछ । जलविद्युत् विकासमा हाल प्राप्त सफलता तथा यस क्षेत्रमा देखिएको लगानी आकर्षणले पनि यस्ता सम्भावनालाई नजिक तुल्याएको देखिन्छ ।
नुवाकोटमा निर्मित समुद्रटार त्रिशूली ३ बी हब १३२ के.भी प्रसारण लाइन र सवस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार निर्माणका लागि नेपाल अझै एक कदम अगाडि बढेको बताउनुभएको छ । विगत तीन वर्षमा निर्मित ठूला विद्युत् तथा पूर्वाधार परियोजनाले यस्तो सम्भावनालाई सत्य साबित गर्दैछन् । जलविद्युत् उत्पादन गरिसकेपछि ट्रान्समिसन लाइनमार्फत गर्नुपर्ने वितरणमा ठूलो समस्या रहने गरेकामा अबका दिन यस्ता समस्या हल हुँदै जाने देखिँदैछ । ट्रान्समिसन लाइनको अभावमा विद्युत् वितरण मात्र नभएर विद्युत्को मूल्य पनि बढाएको छ । निजी क्षेत्र यस्तो समस्यामा बढी नै संवेदनशील देखिएको छ । आफूहरू विद्युत् उत्पादनमा प्रतिबद्ध रहे पनि वितरणको समस्या रहेको बताउने निजी क्षेत्रलाई पनि ट्रान्समिसन लाइनको सहजता दिएर विद्युत् विकासका गतिविधि अझ तीव्रत्तर गर्न सकिनेछ । नेपालले जलविद्युत्मा स्वदेशी र विदेशी लगानी आकर्षित गर्न वित्तीय तथा प्राविधिक सहजीकरणका विभिन्न प्याकेज लागू गरेका सुखद् परिणामहरू देखिन थालेका छन् । विगतको राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्व, कुशल नेतृत्वको अभावमा नेपालमा जलविद्युत्लगायत पूर्वाधार विकासको गति सुस्त बनेको अनुभव मुलुकले गरेको छ । दैनिक १४ घण्टासम्म लोड सेडिङको कष्ट यही पुस्ताले भोगेको छ । यही पुस्ता नेपालले विद्युत् निर्यात गर्न सक्ने दह्रो सम्भावनाको अगाडि उभिएको पनि छ । विद्युत् भनेको बिजुली बत्ती मात्र हो भन्नेजस्तो मानासिकताबाट आज नेपालले विद्युत् उपयोगमा पनि विविधीकरण गर्दै यातायातका साधनदेखि घरायसी जीवनमा वनजन्य तथा पेट्रोलियम ऊर्जा खपत घटाउने अभियानमा पुगेको छ । राज्यको लगानीमा बनेको चार सय किलोवाट विद्युत् उत्पादनको इतिहास अहिले स्वदेशी जलविद्युत् प्रवद्र्धकहरू नै एक सय मेगावाटसम्मका आयोजना निर्माण गर्न सक्षम भएका छन् । जलविद्युत् आयोजनामा सेयरमार्फत लगानी गर्न नेपालीको आकाङ्क्षा उर्लिएको देखिन्छ । बैङ्कहरू विद्युत् आयोजनामा कर्जा उपलब्ध गराउन तयार छन् । एकातिर नेपालको निजी क्षेत्र ठूलो आयोजनाका लागि सक्षम हुनु र अर्कोतिर नेपालमै लगानी स्रोत जुुट्नु यस क्षेत्रका लागि सुखद सङ्केत हो ।
ट्रान्समिसन लाइनको समस्या, आयोजना तथा स्थानीयवासीको टकराव, जग्गा खरिद्को परिमाण सीमा, परियोजना सञ्चालन गर्ने विभिन्न निकायमा धाउनुपर्ने, अन्तरनिकाय समन्वयको अभाव र स्वदेशी प्रवद्र्धकलाई दिनुपर्ने विशेष प्रोत्साहनजस्ता पक्षमा रहेका कमीकमजोरी सुधार गर्दै नेपालमा जलविद्युत्को उत्पादन व्यवसायीकरण र उपभोगमा नयाँ युग ल्याउन सकिनेछ । 
 
यो पनि हेर्नुहोस्

Related Keywords

Sundarijal ,Nepal General ,Nepal , ,Start The Nepal ,Prime Minister ,Asia Old ,Nepali Access ,Nepal His ,Nepal Private ,New Age ,நேபால் ,ப்ரைம் அமைச்சர் ,புதியது வாழ்நாள் ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.