स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताउनुभएको छ ।
सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उहाँले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताउनुभयो । प्रतिनिधि सभा शिक्षा स्वास्थ्य समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारले खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । विकट जिल्लामा खोप लगाउनका लागि प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी मात्रा खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्याएर बाँकी खोप लगाउन थालिएको बताउनुभयो ।