comparemela.com

Card image cap


बाढीपहिराेले सडकमा रु. ८० करोडको क्षति
  
शेयर गर्नुहोस:
काठमाडौँ, साउन २० गते । वर्षाका कारण आएको बाढीपहिराेले यो वर्ष सडकमा झण्डै रु. ८० करोडको क्षति भएको छ । हालसम्म १५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलमा गर्न नसकिएको विभागका सम्भार महाशाखाका प्रमुख (उपमहानिर्देशक) भीमार्जुन अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार खोलाको सतह माथिसम्म भइरहेकाले पुलमा अहिले नै क्षति देखिएको छैन । उहाँले भन्नुभयो, “वर्षा कम भएपछि मात्रै त्यसको क्षति यकिन हुनेछ ।” क्षतिग्रस्तमध्ये हाल १० सडकबाहेक अरू आंशिक वा पूर्णरूपमा सञ्चालनमा आइसकेको छन् । हालसम्म १५८ सडक अवरुद्ध भएकामा ५२ सडक पूर्णरूपमा चालु भइसकेको र ९६ सडक एकातर्फबाट मात्रै सञ्चालनमा रहेको विभागले जनाएको छ ।
यस वर्ष क्षति पुगेका २५ पुलमध्ये आठ निर्माण सम्पन्न भइसकेका पुल हुन् भने आठ निर्माणाधीन पुल छन् । सात पुलमा क्षति नभए पनि पहुँच सडक क्षतिग्रस्त हुँदा पुल प्रयोगमा आउन नसकेको महाशाखामा कार्यरत इन्जिनीयर केशव ओझाले बताउनुभयो । तीन कल्भर्ट र दुई काठको पुलमा क्षति पुगेको छ । उहाँले भन्नुभयो, “डुम्रेबाट माथि चामे जाँदा बाटोमा सानासाना छहरामा रहेका काठको पुल पनि क्षतिग्रस्त भएको छ ।”
क्षतिग्रस्त बनेका पुलमा निर्माणाधीन भए त्यसको मर्मतको जिम्मेवारी व्यवसायीको हुने र निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका पुलको मर्मतको जिम्मेवारी विभागको हुने इन्जिनीयर ओझाले बताउनुभयो । विभागले सङ्घीय, प्रदेश र स्थानीय गरी सबै किसिमका सडकमा आवश्यकतानुसार बेली ब्रिज उपलब्ध गराउँदै आएको छ । आपत्कालीन प्रयोगका लागि पूर्णरूपमा यातायात नै ठप्प भएका ठाउँमा बेली ब्रिज राखिने गरिएको उहाँले बताउनुभयो । चालु आवमा कुनै पनि ठाउँमा बेली ब्रिज राखिसकिएको छैन । विभागले मेलम्ची–हेलम्बु सडक र बेँसीसहर–चामे सडकमा बेली ब्रिज राख्ने योजना बनाएको छ । उहाँले भन्नुभयो, “बेली ब्रिज राख्न खोलाको सतह कम भएर सडक पनि अवरुद्ध भइहाल्ने अवस्था नहुँदा सजिलो हुन्छ ।”
यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीसहर–चामे सडक र अरनिको राजमार्गमा देखिएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । बेंसीसहर–चामे सडकमा अहिले विभागले लमजुङतर्फबाट सडक खुलाइरहेको छ । मनाङतर्फ भने चट्टान रहेकाले नेपाली सेनाले नै खुलाउनुपर्ने उहाँले बताउनुभयो । सो क्षेत्रमा चट्टान फुटाउनका लागि विस्फोटन गर्नुपर्छ । उहाँले भन्नुभयो, “सो क्षेत्रमा सेनाको सहयोगमा सडक खुलाउने गरी कुरा भएको छ ।”
असार महिनामा वर्षाका कारण पहिराेले अरनिको राजमार्गको ठाउँठाउँमा सडक अवरुद्ध बनेको थियो । अहिले पहिरो पन्छाएर कतै एकातर्फबाट त कतै दुवैतर्फबाट सडक सञ्चालन भइरहेको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । सो राजमार्गमा खासगरी दुई ठाउँमा क्षति पुगेकामा एक ठाउँमा निर्माण भइसकेको छ भने एउटामा निर्माण भइरहेको छ । एक ठाउँमा वर्षाले पुल नै कटान गरेको थियो । उहाँले भन्नुभयो, “ठूलो क्षति भएको ठाउँमा ढलान नै गरेर पर्खाल उठाउनुपर्ने भएको छ ।”
बाढी र पहिराेका कारण सडक ठाउँठाउँमा क्षतिग्रस्त बने पनि खुलाइँदै आएको छ । सडक नै भासिएको वा पुल नै बगाएको ठाउँमा मात्रै सडक चालु गर्न लामो समय लाग्ने देखिएको छ । उहाँले भन्नुभयो, “पुल बगाएको ठाउँमा पानीको तह नघटी केही गर्न सकिँदैन ।”
चालु आवमा चाँडो वर्षा सुरु भएकाले अन्तिम काम भइरहेका धेरै पुल सम्पन्न हुन नसकेको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । निर्माणाधीन कतिपय पुलमा निर्माण व्यवसायीले ढलान गर्नका लागि टेको लगाएकामा क्षतिग्रस्त भएका छन् । बर्सेनि असार १५/२० पछि मात्रै वर्षा सुरु हुने गरेको भए पनि यो वर्ष जेठमा नै वर्षा सुरु भएको थियो । कतिपय पुल वर्षा पहिले ढलान गरिसक्ने गरी निर्माणको काम अघि बढाइएको थियो । वर्षाका कारण पुल सम्पन्न हुन नसकेको र पुलको टेको बगाएको उहाँले बताउनुभयो ।
बेँसीसहर–चामे सडकमा सडक नै भासिने र पुल नै बगाउने गरी भएको क्षतिले गर्दा मनाङ जिल्ला सडक सम्पर्कबाट टाढा बनेको विभागले जनाएको छ । सो सडकमा खासगरी मनाङको तिमाङ छहरा, तिमाङ खोला, धारापानी, बगरछाप, रामबजार, अर्खलेमा बाढीले बढी असर पु¥याएको छ । अरनिको राजमार्गको लिपिङ पुलमा क्षतिग्रस्त भएको छ ।
गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत त्रिशूली खोला, सानो भार्खु खोला र गाँजाबारीमा गत असार १ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । सोही सडकअन्तर्गत आइतबार मैथली खोलामा पनि अवरुद्ध बनेको छ । बझाङमा खोड्पे–चैनपुर सडक झौलेकमा अवरुद्ध भएकामा खुल्न सकेको छैन ।
बर्सेनि वर्षाका कारण सडकमा क्षति पुग्ने गरे पनि यो वर्ष वर्षा भारी भइरहँदा धेरै सडकमा क्षति पुगेको विभागले जनाएको छ । अवरुद्ध सडक खुलाउनका लागि विभागले जेठदेखि नै ठाउँठाउँमा उपकरण तयारी अवस्थामा राख्ने गरेको छ । डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयले तयारी अवस्थामा रहेका उपकरणबाट नै सडक खुलाउने गर्छन् । बढी क्षति भएका र भएका उपकरण उपलब्ध नहुँदा अरू कार्यालयसँगको समन्वयमा सडक खुलाउने गरिएको विभागले जनाएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
शिवकुमार भट्टराई
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Related Keywords

Kathmandu , Bagmati , Nepal , Keshav Ojha , Department Melamchi , Nepali Army , Wood Bridge , Department Federal , Place Bailey , Place Construction , Bridge Place , Start The , Manang District Nepal , Sunday River , கட்மாண்டு , பாக்மாடி , நேபால் , நேபாளி இராணுவம் , மரம் பாலம் , துறை கூட்டாட்சியின் , பாலம் இடம் , தொடங்கு தி , ஞாயிற்றுக்கிழமை நதி ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.